विराटनगरमा एक चिकित्सक मृत भेटिए

April 2, 2022 10:07 am

मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक मृत फेला परेका छन्। सप्तरीको विष्णुपुर गाउँपालिकाका २७ वर्षीय विजय यादव विराटनगर ४ स्थित बस्दै आएको भाडाको घरमा शनिबार बिहान मृत भेटिएका हुन्।

यादव भाडामा बस्दै आएका घरको कम्पाउण्डभित्रै मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए।

डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। उनी नोबेल अस्पतालको हाड जोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसर थिए।

यादवको शव विराटनगरको कोसी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ। मृतकका आफन्तले डाक्टरको हत्या भएको भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी गरेका छन्। उनीहरुले घटना अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य सार्वजनिक गर्न प्रहरीसँग माग गरेका छन्।