चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए।
‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ। बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौं,’ प्रचण्डले भने, ‘कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ।’
भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए। सबै राजनैतिक दलहरु आ-आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भने। -रासस