पार्टीका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

March 30, 2022 11:38 am

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सम्बोधन गर्ने भएका छन्। नेपाली काँग्रेसले सत्ता साझेदार दलहरूसँग चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै ओलीले देशभरका आफ्ना जनप्रतिनिधिहरूलाई सम्बोधन गर्ने भएका हुन्।

ओलीले दिउँसो २ बजे भर्चुअल सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा जनप्रतिनिधिहरूका सुझाव लिने र स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन दिने जनाइएको छ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आज सम्बोधन कार्यक्रम राखिएको हो। गठबन्धन मात्रै नभएर निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरू मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गर्दै आएका ओलीले विशेष चुनावी निर्देशन दिन लागिएको बुझिएको छ।