गठबन्धन कायम रहे त्यसको लाभ एमालेलाई हुन्छ : योगेश भट्टराई

March 23, 2022 5:31 pm

काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन्।

एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गरे।

उनका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ। प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उनले जानकारी दिए।

बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन्। -रासस