चितवन । वित्तीय संस्थाबाट कर्जा लिएर उद्यम गरिरहेका महिलाहरुलाई चितवनको रत्ननगरमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको छ । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा लगानी,त्यसको सदुपयोग,जीविकोपार्जन र आयआर्जनको लागि गर्नुपर्ने कामहरुको बारेमा प्रशिक्षण दिएको हो ।
कार्यक्रममा समुहका १२० जना अध्यक्षहरुलाई लघुउद्यम व्यवसायको प्रर्बद्धन,विस्तार र सवलीकरण,ग्राहक सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरण,महिला सशक्तिकरण,वित्तीय साक्षरता लगायतको विषयमा प्रशिक्षण दिइएको संस्थाकी सहायक महाप्रबन्धक सरिता ढकालले जनाकारी दिइन । सो संस्थाले समुहमा आबद्ध भएका महिलाहरुलाई गरिबी निवारण गर्ने उद्देश्यका साथ विभिन्न शिर्षकमा कर्जा लगानी गर्दै आएको छ ।
कृषि,पशुपालन,व्यापार,व्यवसाय,साना उद्योग,होटल लगायतका शिर्षकमा ७ लाख सम्म विनो घितो र १५ लाख सम्म धितो राखेर कर्जा लगानी गर्दै आएको ढकालले बताइन । आफुले एक हजार देखि एक लाख सम्म कर्जा लगानी गरेका महिलाहरु अहिले करोडपति बन्न सफल भएको उनको दावी छ । कार्यक्रममा १० वटा उत्कृष्ट समुह र चार जना उत्कृष्ट कारोबार गर्ने समुहका अध्यक्षहरुलाई सम्मान गरिएको टाँडी शाखा प्रमुख सविना सेन्चुरीले जानकारी दिइन । उनले प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रम समापन भएपछि सो संस्थाले रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले सञ्चालन गरेका कार्यक्रम र त्यसले विपन्न समुदायका जीवनशैलीमा ल्याएको परिर्वतनको बारेमा जानकारी गराएको छ । गोरखामा मुख्य कार्यालय रहेको सो संस्थाले चितवनको रत्ननगर,माडी र कालिका नगरपालिकामा शाखा स्थापना गरी ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमी बनाउन कर्जा लगानी गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।
हामीले इमान्दारिता र विश्वासको आधारमा लगानी गरिरहेका छौं उनले भने विपन्न समुदायका महिलाहरुलाई कर्जा लगानी गर्ने भएका कारण त्यसको सुरक्षाका लागि उनीहरुलाई तालिम,सीप तथा परामर्श गरेर सक्षम बनाउछौं ।