स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन : केपी ओली

March 19, 2022 11:13 am

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा नेता ओलीले गठबन्धन केही नभएको तर्कसमेत गरे।

‘यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ उनले भने, ‘उनीहरूलाई यस्तो तयारी गरौं कि एमालेको तयारी देखेर अहिलेबाटै निद्रा लाग्न छाडोस्। अहिलेदेखि खान रुच्न छाडोस्।’ स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने उनको भनाई छ। गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उनले बताए।

ओलीले भने, ‘स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै माओवादी अब सकिसकेको दाबी गरे। ‘हामीले भरिदिएको भाँडो त सिद्धि सक्यो त प्रचण्ड जी। खुरुखुरु एमालेमा प्रवेश गरेको लस्कर देख्नुभएको छ कि छैन ? हामी खुर्कीखर्की गरेर पनि निकाल्छौ,’ ओलीले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे उक्त पार्टी ध्वस्त हुने दाबीसमेत गरे। ‘गठबन्धनमा भएको एउटा पार्टी छ। त्यो बन्दै बन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ,’ ओलीले भने।

काँग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्ने गरी एमालेले तयारी गर्नुपर्ने धारणासमेत ओलीले राखे। ‘काँग्रेस पोरपरारै २३ मा झरेको हैन। अब १३ मा झार्नुपर्छ,’ ओलीले भने।