सकियो रत्ननगर महोत्सव : अपेक्षाकृत उपलब्धी हासिल भएको दावी

March 8, 2022 7:48 pm

रत्ननगर २४ फागुन । रत्ननगर उद्योग बाणिज्य संघले टिकौलीचौरमा आयोजना गरेको ११औं रत्ननगर महोत्सव मंगलबार सकिएको छ । फागुन १५ गतेबाट सुरु भएको सो महोत्सवमा अपेक्षाकृत उपलब्धी हासिल भएको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सवको तीन लाखले अवलोकन गरेको र १५ करोडको हाराहारीमा कारोबार भएको संयोजक श्रेष्ठले बताए । महोत्सवको अन्तिम दिन मंगलबार मात्र ५० हजारले अवलोकन गरेका छन् । नारी दिवसको अवसरमा महिलाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो । मंगलबार कुल संख्याको ८० प्रतिशत महिला अबलोकन कर्ता रहेका थिए । कोरोनाले थलिएको जिल्लाको अर्थतन्त्रलाई पुनर्जिवन दिने उद्देश्यले आयोजना गरिएको सो महोत्सवमा ४२५ वटा स्टलहरु रहेको थियो ।

महोत्सव समापन समारोहमा प्रमुख अतिथि प्रदेश साँसद कन्चन खनालले संघको स्मारिका विमोचन गरेकी छन् । कार्यक्रममा महोत्सव अन्तर्गत आयोजना गरिएको जगतकृष्ण प्रजापती स्मृति विद्यालय स्तरीय नृत्य प्रतियोगिता तथा भलिबल प्रतियोगितामा विजयी समुहलाई पुरस्कार वितरण गरिएको छ । कृषि तर्फ उत्कृष्ट उत्पादन तथा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको संघका बरिष्ट उपाध्यक्ष शंकर गिरीले बताए । कार्यक्रमकी प्रमुख अतिथि खनालले रत्ननगरमा आयोजना गरिएको महोत्सवले समग्र जिल्लाको आर्थिक गतिविधिलाई चलायमान गराएको बताइन । मेयर नारायण वनले रत्ननगर महोत्सवले आर्थिक विकाससंगै चितवनमा पर्यटन प्रर्बद्धनमा समेत टेवा पु¥याएको बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक,नेपाली काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल,माओवादी केन्द्रका रामचन्द्र अधिकारी,खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष दीपेन श्रेष्ठ,रत्ननगर उद्योग बाणिज्य संघका महासचिव निराजन खनाल,शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक जुली भट्ट लगायतले मन्तव्य राखेका थिए । समापन कार्यक्रम संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतमा भएको थियो ।