कालिकाका वडा अध्यक्ष रिजालमाथि आक्रमण, एमाले चितवन र कालिका नगरपालिकाद्वारा निन्दा

March 7, 2022 8:44 pm

चितवन, २३ फागुन । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष टीकाराज रिजालमाथि आज सोमबार कार्यालयमै आक्रमण भएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिहरुले एक्कासी उहाँमाथि आक्रमण गरेका हुन् ।

वडा अध्यक्ष रिजालका अनुसार कार्यकक्षमा काम गरिरहेको समयमा एक्कासी पछाडिबाट आक्रमण भएको हो । उहाँले भन्नुभयो “म सेवाग्राहीको काममा व्यस्त थिएँ, माक्स लगाएर आएका अपरिचित व्यक्तिहरुले पछाडिबाट आक्रमण भयो ।” आक्रमणकारीले कार्यकाक्षबाट बाहिर निस्कालेपछि भित्र भाग्न सफल हुनु भएका वडा अध्यक्ष रिजालले प्रहरीलाई फोन गरे लगत्तै उनीहरु भागेको बताउनुभयो ।
विगतमा भएका यस्तै प्रकृतिका आपराधिक घटनाका दोषीलाई कारवाही नहुँदा घटना दोहोरिएको उहाँको भनाई छ । कुनै वादविवाद बिना नै घटना भएको रिजाले न्यूजभित्तोलाई बताउनुभयो । उहाँले भन्नुभयो “मेरो कसैसँग झैझगडा वा विवाद भएको छैन, एक्कासी आपराधिक तरिकाले आक्रमण भयो ।”

यसैबीच नेकपा एमाले चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको भत्र्सना गरेको छ । पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ “कालिका नगरपालिका वार्ड नंं ३ का जननिर्वाचित वडा अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटीका सदस्य टीकाराज रिजालमाथि उहाँको कार्यकक्षमै अज्ञात समूहद्वारा दूरव्यवहार गरी मोसो दल्ने प्रयास भएको घटनाप्रति नेकपा (एमाले) जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अपराधिक कार्यको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।”

जनताको काम गर्ने क्रममा एकाएक भौतिक आक्रमणमा उत्रिनु कानुनी राज्यको उपहास भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “कानुन मिच्ने अधिकार कसैलाई पनि छैन । दिनदाहाडै गुण्डागर्दी शैलीमा रिजालमाथि दुव्र्यवहार गर्ने अराजक र अपराधिक समूहलाई तत्काल खोजी गरी कानुनको दायरामा ल्याई कानुनी कारबाही गर्न नेकपा एमाले प्रशासनसँग जोडदार माग गर्दछ ।”

यसैगरी कालिका नगरपालिकाले विज्ञप्ति प्रकाशित गरी घटनाको भिन्दा र भत्र्सना गरेको छ । नगर प्रमुख खुमनारायण श्रेष्ठ गोपीद्वारा आज जारी विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ “कार्यालयमा रही जनताको सेवामा उच्च मनोबलका साथ खटिरहेको अवस्थामा स्थानीय जनप्रतिनिधिको मानमर्दन गर्ने यस्ता कार्यले व्यक्तिगत प्रतिष्ठानमा आँच आउनुका साथै नगरपालिकाको सेवा प्रवाहमा समेत नकारात्मक असर पर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।”