रत्ननगर महोत्सवको तयारी पुरा : भोली उद्योग मन्त्री श्रेष्ठले उद्‌घाटन गर्ने

February 26, 2022 5:50 pm

रत्ननगर , फागुन १४ ।
पूर्वी चितवनको टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी पूरा भएको छ । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सवको ११ औं संस्करण भोली आइतबार देखि सञ्चालन हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फाल्गुन २३ गतेसम्म चल्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

महोत्सवको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गर्ने मूल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए । महोत्सवको आन्तरिक व्यवस्थापन, प्रचारप्रसारदेखि स्टल निर्माणको काम सकिएको संयोजक श्रेष्ठले बताए । संघले समग्र जिल्लाको आर्थिक विकास गर्ने उद्देश्यले हरेक दुई–दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ ।

यस वर्षको महोत्सवमा जिप साइक्लिङ मुख्य आर्कषण रहेको छ । रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनको बजारीकरणमा सघाउने संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ३५० स्टलहरु रहने छन् ।

कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यावसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।