काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले पार्टी फेरि उदाउने बताएका छन्। जन्मदिनको उपलक्ष्यमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण कार्यक्रममा ओलीले आफूले देश र जनताकै लागि संघर्ष गरिरहेकोले जनताले पुन एमालेलाई नै ल्याउने दाबी गरे।
‘एमाले फेरि आउँछ किनभने यो जनताबाट जन्मिएको, हुर्किएको, जनताका लागि बनेको पार्टी हो, जनताको सुख समृद्धिका लागि बनेको पार्टी हो, त्यसैले यसले जनताको स्नेह प्राप्त गर्छ,’ ओलीले भने, ‘मैले जनताको माया पाएको छु, एमालेले फेरि पनि त्यो सहयोग पाउँछ।’
उनले आफूलाई फाँसीको माग गर्दै जेल सजाय हुँदासमेत जनताको माया र सहयोग पाएर जेलमुक्त भएको र अहिले जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुगेको बताए। एमालेले देशलाई हिजो भन्दा आज राम्रो बनाएको र भोलि अझ राम्रो बनाउने उनले बताए। उनले पार्टीका नेता कार्यकर्ता र जनताको सहयोगका कारण आफू सफल भएको बताए। उनले एमालेले युद्ध नहारेको दाबी गरे।
‘एमालेले एउटा मोर्चामा हारेको हुनसक्छ, तर त्यत्तिले युद्धको हार हुँदैन। हामीले समग्र युद्ध हारेका छैनौं। एउटा मोर्चा हारेका हौं। त्यसैले हामी आउँछौं,’ उनले भने। ओलीले एमालेले राष्ट्र र जनताका विरुद्ध काम नगर्ने बताए। उनले भने, ‘सबै जनताका निम्ति हामी काम गर्छौं। हाम्रो पार्टीले काम गर्छ। हामी राष्ट्रका विरुद्ध, जनताका विरुद्ध काम गर्दैनौं। हामी देशप्रति, जनताप्रति समर्पित रहनेछौं।’
इतिहास झल्किने र आधुनिकता टल्किने एमालेको नीति रहेको उनको भनाइ थियो। अध्यक्ष ओलीले एमालेले सूत्रबद्ध गरेको नीति नै देशको परराष्ट्र नीति भएको बताए। ‘हाम्रो पार्टीले नीतिगत रूपमा देशलाई मार्गदर्शन गर्ने गरेको छ। एमालेका नीति नै नेपालका परराष्ट्र नीति हुन्। एमालेले लिएका नीति नै राष्ट्रिय नीति हुन्,’ उनले भने।