सिन्धुपाल्चोक। नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ। सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो।
त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मतसंख्यासहितको तथ्यांक संकलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिए। बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाईं, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ।
बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेवीसमेत तोकेको छ भने काँग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिए।
बैठकले प्रदेश कार्यालय हेटौँडा र सम्पर्क कार्यालय काठमाडौंमा नियमित सञ्चालन गर्ने, पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यको मर्यादाक्रम मिलाउन महामन्त्री कञ्चनचन्द्र बादे संयोजक र सहमहामन्त्री जीवन डङ्गोल एवं ऋषिराम घिमिरेलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ।