रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

February 14, 2022 7:41 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानहरुलाई प्राङ्गारिक खेती तर्फ आर्कषित गराउन सो नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको हो । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको तीन हजार देखि तीन हजार ५०० रुपैयासम्म खरिद विक्री हुँदै आएको छ ।

सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रुपैया उपलब्ध गराउने छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउने मेयर नारायण वनले बताए । नगरपालिकामा सुचिकृत भएका पशुपालन फर्महरुबाट किसानहरुले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिले सम्म १० वटा पशुपालन फर्म सुचिकृत भएका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले किसानलाई मल उलपब्ध गराउन पशुपालन र्फमलाई लेखेको पत्र किसानलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए ।

हामीले किसानलाई अनुदानमा गाई दिएका छौं उनले भने पशुपालनलाई कृषिसँग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो । अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनु परेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको मेयर वनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले माटोको उर्वराशक्ति संरक्षण गरेर उत्पादन वृद्धि गर्ने योजनाका साथ नगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई, कृषि विकास शाखा प्रमुख प्रविण लामालगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु शंकर सिंह तामाङ, तिलकराज शर्मा, रविन्द्र चौधरी, बलराम दाहाल, राजन भट्ट, विनोद बस्नेत, केशव आचार्य, विरबहादुर पाख्रिन, चित्रबहादुर भण्डारी, होमनाथ लामिछाने, हेमराज थापा, कार्यपालिका सदस्य मिना गिरीलगायतको सहभागिता रहेको थियो ।