काठमाडौं। राष्ट्रिय जनमोर्चाले एमसीसी पारित गर्न अमेरिकाले धम्की दिएकोप्रति आपत्ति जनाएका छन्। अध्यक्ष चित्रबहादुर केसीले शनिवार विज्ञप्ति जारी गरेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी संसदबाट पारित नगरिएमा नेपालबारे अमेरिकी नीतिमा पुनर्विचार गर्ने तथा नेपाल चिनियाँ प्रभावमा गएको अर्थमा त्यसलाई बुझिने छ भनेर दिएको धम्कीप्रति आपत्ति जनाएका हुन्।
केसीले अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका नेताहरूलाई टेलिफोन गरेर धम्की दिनु कूटनीतिक मर्यादा विपरीत रहेको बताए। गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाव दिएका थिए। उनले एमसीसी पारित नभए चीनका कारण पारित नभएको ठान्ने पनि बताएका थिए।
त्यसको विरोधमा केसीले भनेका छन्, ‘अमेरिकाको उक्त धम्कीबाट एमसीसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ। त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसीसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ।’
कुनै पनि मुलुकले दिने सहायता, सहयोग वा अनुदान लिन वा नलिन नेपाल स्वतन्त्र रहेको भन्दै केसीले मुलुकको अहित हुने विकास परियोजनालाई अस्वीकार गर्दा कुनै पनि मुलुकले बाध्य पार्न वा धम्क्याउन नमिल्ने बताएका छन्। उनले नेपाल अमेरिकाको पक्ष लिएर चीनका विरुद्ध वा चीनको पक्ष लिएर अमेरिकाको धुरीमा संलग्न हुने मुलुक नभएको पनि बताएका छन्। एमसीसी सम्झौता पारित गराउन अमेरिकाले दबाव बढाएको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अमेरिकाको धम्कीविरुद्ध देशभक्तहरूले विरोध गर्नुपर्ने बताएका छन्।