यूएईसँग नेपाल २५ रनले पराजित

February 12, 2022 3:39 pm

काठमाडौं । चार देशबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत यूएईसँगको खेलमा नेपाल २५ रनले पराजित भएको छ । यूएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले धिर्नारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद भेषवाकरले अविजित १० रन बनाए । यूएईका रोहन मुस्ताफा, कासिफ दौडले दुई/दुई र जुनैद सिद्दिकीले एक/एक विकेट लिए ।

त्यसअघि, ओमानको अलअमरेत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो । उसका लागि चिराग सुरीले उत्कृष्ट पारी खेले । उनले ५३ बलमा पाँच चौका र पाँच छक्कासहित अविजित ८४ रन बनाए ।

त्यस्तै, रोहन मुस्तफाले ४९, मोहम्मद वसीमले २२, बसील हमीदले १७ र मोहम्मद बूटाले अविजित १४ रनको योगदान दिए । बलिङमा आरिफ शेख, सन्दीप लामिछाने र शाहब आलमले एक/एक विकेट लिए । यूएईविरुद्ध कप्तान लामिछानेले ८ बलरको प्रयोग गरे । तर, तीन बलरलाई मात्र सफलता प्राप्त गरे ।

आईसीसी विश्वकप ग्लोबल क्वालिफायरअघि नेपाल, यूएई, ओमान र आयरल्याण्डले सिरिज खेलिरहेका हुन् । नेपालले पहिलो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो । जारी सिरिजको अन्तिम तथा तेस्रो खेल नेपालले सोमबार आयरल्याण्डविरुद्ध खेल्नेछ ।

आजको हारसँगै नेपाल अंक तालिकाको शीर्षबाट दोस्रो स्थानमा झरेको छ । नेपाल हिजोको जितले तालिकाको शीर्षमा पुगेको थियो ।