काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन्। स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा जनअभिमुखीकरण अभियानको शुभारम्भ गर्दै ओलीले सत्ता गठबन्धनसँग एक्लै लडेर बहुमत प्राप्त गरी स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्ने बताए।
‘वैशाख ३० गतेको निर्वाचन जनदबाबका कारण बाध्य भएर तय भएको हो। निर्वाचन आयोग र सबैको चर्को दबाबले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो।’ उनले भने, ‘अहिलेको पाँच दलीय गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर हामीले निर्वाचन जित्छौं।’
ओलीले निर्वाचनबाट कसैलाई भाग्न नदिने बताए। साथै बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्न पनि उनले चेतावनी दिए।‘अब कसैलाई निर्वाचनबाट भाग्न पनि दिँदैनौं र अबका निर्वाचन बत्ती निभाएर, मतपत्र च्यातेर जित्ने कल्पना नगरे हुन्छ, सपना नदेखे हुन्छ,’ उनले भने।
उनले पार्टी विभाजनको असर पनि नपरेको भन्दै पार्टीमा दृढ भएर रहने जनप्रतिनिधिहरूलाई धन्यवाद पनि दिए। ‘विभाजन २ डिजिट पनि पुर्याउन सकेनन्, त्यो भन्दा कम रह्यो, आन्दोलन र पार्टीप्रतिको निष्ठाका लागि म जनप्रतिनिधिहरूलाई धन्यवाद दिन्छु,’ उनले भने। ओलीले भ्रममा परेर पार्टी छाड्नेहरूलाई अलमलमा नपरी फिर्ता हुन आव्हान गरे।