काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन्।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेको उनले बताएका छन्। थापाले भनेका छन्, ‘३१ वर्ष लामो पार्टीको सम्बन्ध टुट्न गएको छ, आजबाट म राप्रपाबाट अलग भएको छु।’
उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए।
