एक्लै चुनावमा लड्ने क्षमता कांग्रेससँग छैन : रामचन्द्र पौडेल

February 6, 2022 5:36 pm

गण्डकी। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगदान, क्षमता र दक्षताका आधारमा आसन्न निर्वाचनका लागि कांग्रेसले उम्मेदवार चयन गर्नुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको आज पोखरामा उद्घाटन गर्दै उनले पार्टीमा मेरो वा तेरो नभनी योगदान, क्षमता र दक्षताको पहिचान गर्ने गरी उम्मेदवार पहिचानको अभियान थाल्न आग्रह गरे।

दलहरुबीचको गठबन्धनबारे पार्टीको स्पष्ट धारणा हुनुपर्नेमा जोड दिँदै नेता पौडेलले चुनाव लड्नका लागि नभई जित्नका लागि हुनुपर्ने भएकाले पार्टी संगठनको विद्यमान अवस्थासमेतलाई दृष्टिगत गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। पौडेलले गठबन्धनलाई निरन्तरता दिएर चुनावमा जानुपर्ने बताए। गठबन्धनसँग मिलेर चुनावमा जाँदा कांग्रेसको उपस्थिति बलियो हुने उनको धारण छ।

अहिलेको परिस्थितिमा एक्लै चुनावमा जानका लागि कांग्रेसको क्षमता नभएको पौडेलले बताए। ‘साथीहरुका गजब-गजबका भाषण बेलाबेला सुनिन्छ। हामी त एक्लै लडिन्छ ठिक छ। एक्लै लडौं, तर एक्लै लड्नका लागि एक्लै लड्ने क्षमता बनाउँ,’ पौडेलले भने। उनले आफुहरुसँग ३० प्रतिशत मात्र जनमत रहेकाले पनि एक्लै चुनावमा जान नमिल्ने बताए।

गण्डकी प्रदेशलाई कृषि, पर्यटन र ऊर्जाका माध्यमबाट समृद्ध बनाउन सकिने जनाउँदै उनले यसको उपयोग गर्न नसकिएको बताए। गण्डकीले राज्यलाई धेरै योगदान दिए पनि राज्यबाट विशेष सहुलियत पाउन नसकेको उल्लेख गर्दै उहाँले हामी आफैँमा एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिका कारण पनि स्वयं बाधक भएको हुनसक्नेमा जोड दिए। एमसिसी जस्ता विषयमा जनतालाई स्पष्ट पार्न यथार्थता बुझाउनुपर्ने उनको भनाइ छ।

संघीय संरचनाअनुसार बनेको पार्टीको प्रादेशिक समितिले कार्यालय स्थापना गरी आफ्नो काम थाल्नु प्रशंसनीय भएको बताउँदै पौडेलले आसन्न निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी संगठन मजबुद बनाउने गरी लाग्न आग्रह गरे।