काठमाडौं, माघ २३ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने भएको छ । यसअघि बिहीबार नै बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनको मिति तोक्ने तयारी गरिएको थियो । तर, बिहीबार अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमिसिसी) को विषयमा सत्तारुढ गठबन्धनमा सहमति नहुँदा बैठक बसेको थिएन ।
सोमबार बस्ने मन्त्रिपरिषद् बैैठकमा पनि एमसिसीको विषयमा कुनै छलफल नहुने सरकारका एक मन्त्रीले फरकधारलाई बताएका छन् । उनका अनुसार सोमबार बस्ने बैठकले चाहिँ स्थानीय तहको निर्वाचनको मिति चाहिँ घोषणा गर्नेछ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँगको परामर्शमा ५ जेठअघि नै स्थानीय निर्वाचनको प्रस्ताव गरेका थिए । निर्वाचन आयोगले पनि ४ जेठमा स्थानीय तहको निर्वाचन गर्न सकिने सम्भावना रहेको भन्दै सरकारलाई सिफारिस गरेको थियो ।