काठमाडौं।
मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै नेपाल एपिएफ फुटबल क्लबले २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङलाई टाइब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै एपिएफले इतिहास रचेको छ ।
उसले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको हो । एपिएफ १४ वर्षपछि यो प्रतियोगिताको फाइनलमा पुगेको थियो । फाइनलमा निर्धारित ९० मिनेटमा २-२ को बराबरी र अतिरिक्त समयम गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा मनाङका ओलावाले अफीजले मात्र गोल गर्न सकेनन् । उनको प्रहारलाई एपिएफका गोलरक्षक युया कोरिगोल गर्न सफल भए । मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रूपेश केसीले गोल गरे । खेलमा विभागीय टिम एपिएफले अग्रता लिएको थियो ।
खेलको २० औं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । कप्तान विमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए ।
खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । फ्रि–हेडमा हाईटको फाइदा उठाउँदै फ्रेङ्कलिनले गोल गरेका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमै एपिएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलेका थिए । जितसँगै एपिएफले १० लाख र उपविजेता मनाङले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।