काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। केही दिनयता दैनिक १२ हजारभन्दा बढी संक्रमित फेला परेको यो दोस्रो पटक हो।
पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय संक्रमितको संख्या ८८ हजार ९०० नाघेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या आठ छ। मंगलवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १८ हजार १०३ वटा परीक्षण पीसीआर विधिबाट र ७ हजार ८०६ वटा एन्टिजन विधिबाट कुल २५ हजार ९०९ परीक्षण गरिएको थियो।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएका मध्ये १२ हजार ८ जना कोभिड पुष्टि भएको हो। पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५२ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। हाल देशभरि संक्रमितको संख्या ८८ हजार ९३४ रहेको तथ्यांकले देखाउँछ। तीमध्ये ५६ हजार ८८२ काठमाडौं उपत्यकामा रहेको तथ्यांकले देखाउँछ।
सक्रिय संक्रमितमध्ये ४१ हजार ६३३ जना काठमाडौंमा, ९ हजार ६६८ जना ललितपुरमा र ५ हजार ५८१ जना भक्तपुरमा छन्। गत २४ घण्टामा काठमाडौंमा ४ हजार ८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना नयाँ संक्रमित थपिएका हुन्। तीबाहेक अरू पाँच जिल्लामा दुई सयभन्दा बढी संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्।
अहिले आईसीयूमा २४५ जना र भेन्टिलेटरमा ४४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा निको हुने संक्रमितको संख्या ३ हजार ४० रहेको छ।