काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा हालसम्म कुल ३ करोड ८२ लाख १८ हजार ७ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ५८ लाख ७ हजार २९ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ९१ जना संक्रमितको ज्यान गएको छ । योसँगै हालसम्म कोभिड संक्रमणबाट ज्यान गुमाउनको संख्या ४ लाख ८७ हजार ६९३ पुगेको छ । पछिल्लो समय भारतमा सक्रिय संक्रमितको संख्या समेत निरन्तर बढिरहेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक संक्रमण दर बढेर १६.४१ पुगेको छ भने साप्ताहिक संक्रमण दर १६.०६ रहेको छ ।
यसबाहेक कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या समेत बढ्दै गएको छ । बुधबारको तुलनामा बिहीबार ओमिक्रोनका संक्रमित ३.६३ प्रतिशतले बढेका छन् । हालसम्म यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार २८७ पुगेको छ ।