काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको छ। ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ,’ आज धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले भने।
बतास समूहले भाडामा लिएर सञ्चालन गरिरहेको धर्मशाला ‘धर्मशाला’ नभएर सात तारे होटल जस्तो रहेको उनको भनाइ छ। ‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ उनले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’
निरीक्षण गर्दा केही अनुमति लिएर गर्नु पर्ने काम समेत नभएको मन्त्री आलेले बताए। सोमबार प्रतिवेदन निकाल्ने र त्यसपछि अगाडी बढ्ने मन्त्री आलेले बताए। ‘कतिपय कोठाहरू प्राइभेटलाई दिएको रहेछ। त्यो दिनै नमिल्ने कामहरू भएको रहेछ। कतिपय कुराहरू पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरू पनि नगरिएको देखियो,’ मन्त्री आलेले भने, ‘छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्छ। त्यसपछि त्यसको आधारमा सबै कुरा छर्लंग बाहिर आउने छ।’
उनले दोषी देखिने कर्मचारीदेखि सबैलाई कारबाही गरिने पनि बताए। आफूले कसैमाथि राजनीतिक प्रतिशोध नराखेको उनको भनाइ छ। उक्त धर्मशाला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए। भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो।