काेराेनाकाे कारण स्थगित भयो क्यान इन्फोटेक

January 11, 2022 7:38 pm

काठमाडौं। माघ १८ देखि २३ गतेसम्म हुने भनिएको क्यान इन्फोटेकको २७ औं संस्करण कोभिड–१९ महामारीका कारण स्थगित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने भनिएको उक्त सूचना-प्रविधि मेला दोस्रो पटक स्थगित भएको हो ।

‘कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी र सरोकारवालाहरूसँगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको छ,’ आयोजक क्यान महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका आधुनिक प्रविधि प्रदर्शन गर्नुका साथै यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि अन्तरक्रिया गर्ने उद्देश्यले इन्फोटेक आयोजना गर्ने गरिएको महासंघको भनाइ छ । सन् १९९५ देखि यो मेला बर्सेनि आयोजना हुँदै आएकोमा कोभिड–१९ का कारण सन् २०२० पछि हुन सकेको छैन ।

यसपटक सम्पूर्ण तयारी गरिसकेको भए पनि काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा व्यापक फैलिएको संक्रमणका कारण आयोजना पर सारिएको भनिएको छ । महासंघले मेला स्थगितपछि पर्न जाने असुविधाका लागि माफी मागेको छ ।