राष्ट्रियसभा सदस्य निर्वाचन : आजदेखि आचारसंहिता लागू

January 10, 2022 10:50 am

काठमाडौं। निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी गरिएको हो।

आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र स्थानीय तह, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा दलसँग आबद्ध भातृ संगठनमा लागु हुने आयोगले जनाएको छ।

यसैबिच निर्वाचन आयोगले हिजो उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै उम्मेद्वारलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ। दलहरुले चाहने अनुसारकै चुनाव चिन्ह पाएका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि ९ दलबाट ४३ उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचनका लागि सत्ता गठबन्धनका पाँच दलले सिट भागबन्डा गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ।