सिसिएमसिसीको निर्णयबारे छलफल गर्न शिक्षा मन्त्रालयको बैठक

January 10, 2022 10:39 am

काठमाडौं। कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। विद्यालय बन्द गर्ने निर्णय आजदेखि नै लागू हुने जनाइएको छ। अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङ मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ। सीमा नाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ।

प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ। पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवालाई कोभिडबारे बिफ्रिङको तेस्रो दिन बसेको सिसिएमसिसीको बैठकको १३ बुँदे निर्णयअनुसार थप निर्णय गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ। सिसिएमसिसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।