काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिनेलाई कारबाही गरिने बताएका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज मन्त्री आलेले भने, ‘वैदेशिक रोजगारीमा जाने गरिब नागरिकलाई सबैले सम्मान गर्नुपर्छ, दुःख दिने नियतले काम कुरा गर्नु गलत हो ।’ सङ्गठनले वैदेशिक रोजगारका लागि विदेश जाने श्रमिकहरूलाई विमानस्थलमा दुःख दिने गरेको जानकारी गराएकाे थियाे।
उनले वैदेशिक रोजगारमा जाने नागरिककै कारण देशमा रेमिट्यान्स भित्रिएको र सोझा, सिधा नागरिकलाई अनेकन बहानामा दुःख दिनु गलत भएको बताए । आफू मन्त्री भएपछि वैदेशिक रोजगारमा जाने श्रमिकहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्रामस्थल, खानेपानी र निःशुल्क वाइफाईको व्यवस्था गरेकाले आफू श्रमिकहरूका पक्षमा सधैँ सकारात्मक रहेको उनले बताए।