ओलीकाे अहङ्कारले देशले दुःख पायाे : महामन्त्री थापा

January 3, 2022 6:53 pm

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओलीकाे अहङ्कारले देशले दुःख पाएकाे बताएका छन्। अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टीकाे कार्यक्रममा बाेल्दै थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको बताएका हुन्।

उनले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने पनि बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको भनाइ छ।

‘२०६४ मा माओवादीले बहुमत ल्याएपनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर बहुमत ल्याएपनि देश चलाउन सकेनन्’, उनले भने,‘ओलीको अहंकार र अयोग्यताले देशले दुःख पाएको छ, सरकार पूरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको हो ।’

अब नेपाली कांग्रेसले आफूहरुले २०४८ सालमा बहुमत पाउँदा गरेको गल्ती र २०७४ सालमा नेकपाले बहुमत पाएर गरेको गल्तीबाट पाठ सिक्दै अघि बढ्ने उनको भनाइ छ ।