रत्ननगर, पौष १७
रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शुक्रबार मुटु जाँच गरिएको छ । नेपाली मजदुर एकता समाज,चितवन मुटु अस्पताल र गैरीबारी रिसोर्टको संयुक्त आयोजनामा भएको शिविरमा ४५० जना विद्यार्थी र १९ जना शिक्षकहरुको मुटु जाँच गरिएको हो ।
शिविरमा मुटुमा समस्या देखिएका ३६ जना विद्यार्थीको मुटुको भिडियो एक्सरे गरिएको एकता समाजका प्रबक्ता विजय भूषालले जानकारी दिए । शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर शंकर लौडारी नेतृत्वको डाक्टर तथा प्राविधिकको टोलिले विद्यार्थीहरुको मुटु जाँच गरेका थिए ।
रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रममा विद्यालयका अध्यक्ष राममणि खनाल, विद्यालयका प्रधानाध्यापक शिवराम मरहठ्ठा, बछौली स्वास्थ्यचौकीका प्रमुख केशबबाबु पौडेललगायतले मन्तव्य राखेका थिए ।
वडा नं ६ की कार्यवाहक वडाध्यक्ष केशरीमाया सुनारको अध्यक्षतामा भएको शिविरमा लोकराज भूषाल र रामचन्द्र सापकोटाले व्यवस्थापनको काम गरेका थिए ।