विपीकाे मेलमिलापको नीति अझै पनि सान्दर्भिक छ : सभापति देउवा

December 31, 2021 1:22 pm

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपीकाे मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण रहेको बताएका छन्। ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुभकामना दिँदै देउवाले यस्तो बताएका हुन्।

‘नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ,’ देउवाको शुभकामना सन्देशमा भनिएको छ। कांग्रेसका संस्थापक नेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै कांग्रेसले पुस १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाँउदै आएको छ।

बिपी २०३३ पुस १६ गते तत्कालीन सरकारले लगाएका ठूला मुद्दाको पर्वाह नगरी राष्ट्रियताको संरक्षण र लोकतन्त्रको स्थापनाको उद्देश्य राखेर नेपाल प्रवेश गरेका थिए। सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीले प्रतिपादन गरेको मेलमिलाप नीतिको ठूलो महत्व रहेको बताएका छन्।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ। यो दिनले हामी सबैलाई सधैँ देशभक्ति र लोकतन्त्रप्रति प्रतिबद्धताका लागि प्रेरणा दिइरहेको छ,’ सभापति देउवाले भनेका छन्, ‘राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, संवाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ।’