काठमाडौं।त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द भएको छ। भिजिबिलिटी शून्य भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन्। बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ।
काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।