बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशको राजधानी बुटवल नहुँदैमा बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन्। आफ्नै बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको बताउदै गृहमन्त्री खाणले राजधानी नरहे पनि बुटवल बुटवल नै रहने बताए।
शनिवार गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै खाँणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए।गृहमन्त्री खाणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धी हासिल गरे पनि गरिबीको संख्या भने बढेको बताए। उनले स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महंगो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवद्र्धन गर्न अग्रसर रहेको बताए।
रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०७० साल पुस १० गतेबाट सेवा सञ्चालन गरेको अस्पतालले एक वर्षको अवधिमा ओपिडी, इमरजेन्सी र भर्ना गरी ४८ हजार ७२२ जना बिरामीलाई उपचार सेवा उपलब्ध गराएको छ।
अध्यक्ष आलमले पैसाको अभावमा अस्पताल आएका बिरामीहरू उपचार सेवा लिनबाट बन्चित हुने अवस्था आउन नदिने दाबी गरे। आलमले एक वर्षको अवधिमा अस्पतालको तर्फबाट साढे ६७ लाख रुपैयाँ र विभिन्न दाताहरूको सहयोगमा १० लाख भन्दा बढी रुपैयाँ छुट उपलब्ध गराएको जानकारी दिए।
बुटवलबाट २४५, दाङको लमहीबाट ६८ र पाल्पाबाट ३१ गरि ३४४ जना मिर्गौलाका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको अस्पतालले जनाएको छ। त्यसैगरी एक वर्षको अवधिमा एन्जियोप्लास्टी १११ जना, एन्जियोग्राफी ३१३ र ९१ जनाले पेसमेकर सेवा लिएको अस्पतालका निर्देशक डा. समीर गौतमले जानकारी दिए।