चितवन,पौष ८
रत्ननगरको टिकौली चौरमा पौष २७ देखी माघ ८ गतेसम्म हुने ११ औं रत्ननगर महोत्सवमा ‘ग्रेटर रत्ननगर’को अवधारणा प्रस्तुत गरिने भएको छ । महोत्सवको सन्दर्भमा जानकारी दिने उद्धेश्यले विहीबार सौराहामा आयोजीत पत्रकार सम्मेलनमा महोत्सवमा ‘ग्रेटर रत्ननगर’को अवधारणा प्रस्तुत गरिने जानकारी गराईएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै रत्ननगर उद्योग बाणीज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक अनिल कृष्ण श्रेष्ठले रत्ननगर महोत्सवमा विशेष आकर्षणको रुपमा ‘ग्रेटर रत्ननगर’को अवधारणा रहेको बताए । श्रेष्ठले भने ‘रत्ननगर नगरपालिका,खैरहनी नगरपालिका,राप्ती नगरपालिका र कालिका नगरपालिकालाई जोडेर एउटै नक्सा बनाएर मुख्य प्रवेशद्धार र मायाको चिनोमा राख्नेछौ’ । उनले भने ‘हामीले महोत्सव मार्फत आफ्नो अवधारणा सार्वजनिक गर्ने योजना वनाएका हौं ,यो विषयले आगामी दिनमा निरन्तरता पाउला नपाउला त्यो राजनितिक दल र सम्वन्धित निकायमा निर्भर रहन्छ ।’
त्यस्तै महोत्सवमा अन्य आकर्षणको रुपमा जीप साइक्लीङ र राष्ट्रिय स्तरको भलिवल प्रतियोगिता पनि रहेको छ । प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई महोत्सवमा जोड दिइएको छ ।
कोरोना महामारीको कारण श्रृजित आर्थिक, सामाजिक प्रतिकुलता र बिषम परिस्थितिका बीच नेपाली अर्थतन्त्रको बृद्धि र पुनरोत्थानको राष्ट्रिय एजेन्डा कार्यन्वयनमा महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने छन् ।
महोत्सवमा आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबद्र्धनलाई प्रोत्साहन गर्दै उद्योग एवं व्यापार प्रवद्र्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनहरुको प्रदर्शन, प्रवद्र्धन, प्रचारप्रसारको व्यवस्था मिलाइएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले बताए ।
महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको गिरीले जानकारी दिए । महोत्सव सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरिएको छ ।
कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि महोत्सवमा व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइएको छ ।
स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी संचालन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ । महोत्सव अन्र्तगत पौष २९ देखि ३ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथौं पटक चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको छ ।
यस पटक महोत्सवमा टिकट शुल्क सर्वसाधारण तर्फ ५० रुपैयाँ र विद्यार्थीको लागि २५ रुपैयाँ शुल्क राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएको नागरिकलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको संघका महासचिव निराजन खनालले जानकारी दिए । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले कोरोनाले थलिएको चितवनको अर्थतन्त्रलाई रत्ननगर महोत्सवले माथी उठाउने विश्वास व्यक्त गरिन ।