राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी

December 23, 2021 12:19 pm

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ। त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो।

सूचनामा भनिएको छ, ‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी निर्वाचन वा विधान अधिवेशनमा प्रतिनिधिका रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐन विपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन सूचित गरिन्छ।’

‘अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रिवि नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। त्रिविले राष्ट्रिय वा स्थानीय तहका कुनै राजनीतिक निर्वाचनमा उम्मेदवार वा प्रतिनिधि नबन्न भनेको छ।