कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान शुरु

December 23, 2021 11:28 am

काठमाडौं। नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ। बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएकोले आज मतदान सुरु गरिएको हो। जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान शुरु भएको निर्वाचन समितिले जनाएको छ।

सहमतिमा नेतृत्व टुंगो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

कुल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ।