अग्रज महिला सहकारीको अध्यक्षमा मीना बुढाथोकी चयन

December 18, 2021 7:12 pm

रत्ननगर,पौष ३
रत्ननगर १३ मा रहेको अग्रज महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा मीना बुढाथोकी चयन भएकी छन् । सहकारीको शनिबार सम्पन्न २३ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले बुढाथोकीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा पम्फा अर्याल,सचिवमा पवित्रा लामिछाने,कोषाध्यक्षमा सिता पनेरु चयन भएका छन् । त्यस्तै अधिवेशनले लेखा संयोजकमा इन्द्रकला न्यौपाने र अनुगमन समितीको अध्यक्षमा धनकुमारी दुवाडीलाई चयन गरेको छ ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनाल प्रमुख अतिथी रहेको कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मी थापाले बार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष सुसीला लामीछानेले आर्थिक प्रतिवेदन र लेखा संयोजक पवित्रा लामिछानेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रस्तुत सवै प्रतिवेदन पारित भएको ब्यवस्थापक इन्दिरा कोइरालाले जानकारी दिइन् ।

साधारण सभाको अवसरमा सहकारी संस्थाको उन्नतिमा भुमिका खेलेको भन्दै शेयर सदस्यलाई सम्मान गरिएको थियो । सहकारीले २१ जनालाई असल ऋणीको रुपमा सम्मान गरेको थियो भने जेष्ठ नागरिकको सम्मान लोक कुमारी अर्याल र उत्कृष्ठ कर्मचारीको सम्मान कमला भण्डारीले प्राप्त गरिन् । कार्यक्रममा तदर्थ समिति अध्यक्ष कमला भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन,विश्वहिन्दु महासंघ केन्द्रिय सदस्य पम्फा अर्याल,पञ्चकन्या आमा समुहकी अध्यक्ष इन्द्रकला न्यौपाने,चेतनशिल आमा समुहकी अध्यक्ष अनिता अर्याल,नगर वोर्ड सदस्य निर्मला खड्का लगायतको उपस्थिती रहेको थियो । २०५६ सालमा महिला तथा बालबालिका कार्यालयमा दर्ता भई संचालनमा आएको सहकारीमा हाल ६४१ जना शेयर सदस्य रहेका छन् ।