अमेरिका,बेलायत लगायत ६७ देशबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

December 18, 2021 9:41 am

काठमाडौं,पुस ३

नेपाल सरकारले कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको देशबाट नेपाल आउनेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । शुक्रबार अध्यागमन विभागले सुचना जारी गर्दै विश्वका ६७ देशबाट नेपाल आउनेले अनिवार्य ७ दिन क्वारेन्टिन वस्नुपर्ने मापदण्ड तोकेको हो । ।

जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि विमानस्थलले आग्रह गरेको छ । मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो ।
छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए ।

अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् । अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।