भरतपुर २ पुस । पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित वसन्त चोकमा ट्रकको ठक्करबाट एक बच्चाको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ बालुवा बोकेर जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १३०६ नम्बरको ट्रकले भरतपुर–१२ की अन्दाजी दुई वर्षीय दिपिका जोशीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
बच्चाको मृत्युपछि स्थानीयले ट्रकमा आगजनी गर्नुका साथै ट्रकका चालकलाई कुटपिट गरेका थिए । ट्रकमा लगाइएको आगो दमकलको सहायताले निभाइएको हो । आगो निभाउन गएको दमकललाई समेत स्थानीयले अवरोध गरेपछि केहिबेर राजमार्ग अवरुद्ध बनेको थियो । ट्रक र ट्रक चालक भरतपुर–२९ का मिनबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।