काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका डा. मिनेन्द्र रिजालले आफूले राजनीतिक जीवनमा रहने वा नरहनेबारेमा अझै निर्णय गरिनसकेको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘म राजनीतिको हारेको थाकेको सिपाही होइन। सार्वजनिक जीवनमा रहन्छु तर राजनीतिमा मेरो भूमिकाबारे अझै निर्णय गरिसकेको छैन।’
आफू शशांक कोइरालाको सिफारिसबाट रक्षामन्त्री बनेको भन्दै पार्टी महाधिवेशनमा पराजित भएपछि त्यही प्रश्न आउन सक्छ भनेर राजीनामा दिएको बताए। आफू आफ्नो आदर्शमा अडिग रहेको उल्लेख गर्दै उनले फेरि पार्टीमा अनि आउँदा दिनमा आफ्ना मतदाता र जनताका अघि ठिंग उभिनका लागि रक्षामन्त्रीबाट राजीनामा दिएको बताए।
‘तर शेखर कोइरालालाई समर्थन मैले कुनै लेनदेनमा गरेको होइन। कुनै बेला शशांकलाई अनि रामचन्द्र जीहरूलाई पनि उम्मेदवार बनाएर लैजानुपर्छ भन्ने पनि सोचेको हुँ,’ उनले भने ‘मैले कसैसँग केही भाग खोसेको होइन। त्यो मेरो स्वविवेकको निर्णय थियो।’