देश विकासमा कांग्रेससँग सहकार्य गर्न एमाले तयार छ : ओली

December 10, 2021 5:14 pm

काठमाडाैं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्य गरेर नेकपा एमाले देश विकासमा सँगै हिँड्न तयार रहेको बताएका छन्।

काठमाडौंमा आजदेखि सुरू भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको भन्दै सहकार्य गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका हुन्।

उनले देश बनाउने विषयमा कांग्रेससँग एमाले एक रहने बताए। ‘मुलुकको स्थायित्व, लोकतन्त्र र समृद्धिको यात्रा अघि बढाउन एमाले कांग्रेससँग हातेमालो गर्न तयार छ,’ उनले भने ।

सम्बाेधनमा ओलीले आफू काँग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए। उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए।

उनले भने, ‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्नँ । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन।’