आजदेखि कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा शुरु हुँदै

December 10, 2021 11:04 am

काठमाडौं।आजदेखि नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदैछ। प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्।

महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।

यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्ने क्रम पनि सुरू भइसकेको छ। निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुनेछ।

नयाँ नेतृत्वको लागि मतदान भने २७ गते सोमबार हुनेछ। पार्टी सभापतिमा संस्थापन समुहबाट वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी पक्का छ। १३ औं महाधिवेशनमा देउवा समुहमै रहनुभएका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि यसपटक सभापतिमा उठ्ने भएकाछन्।

संस्थापन इतर समुहबाट साझा उम्मेदवार उठाउने प्रयास जारी छ। यो समुहबाट रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र सशांक कोइराला सभापतिका आकांक्षी देखिएका छन्।