भवन निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न

December 8, 2021 9:40 pm

रत्ननगर,मंसिर २२ । भवन निर्माण व्यवसायी संघ पूर्वीचितवनको २० औँ वार्षिक साधारण सभा बुधबार रत्ननगरमा गरिएको छ ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका कोषाध्यक्ष आशराम महतोले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका पूर्वकोषाध्यक्ष कपिल पौडेलले संघले गरेका गतिविधि प्रस्तुत गर्दै भवन निर्माण गर्ने मजदुरहरुको सुरक्षाको लागि संघले प्राथमिकता दिएर काम गरिरहेको बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्वर्गीय सोमबहादुर तामाङको परिवारलाई भलाइ कोषबाट ४ लाख १९ हजार ५०० रुपैयाँ प्रदान गरिएको संघका पूर्वअध्यक्ष केदार अधिकारीले जानकारी दिए । मन्त्री खनाल र संघका अध्यक्ष कृष्णबहादुर तामाङले सोमबहादुरकी श्रीमती काली तामाङले सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा एसइई तथा प्लस २ मा उत्कृष्ट अंक ल्याउन संघका सदस्यका छोरोछोरीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । कार्यक्रममा श्याम भट्ट, अनिता पासवान, इशा महतो र सुदीपना प्रजाललाई सम्मान तथा पुरस्कृत गरिएको हो । सो अवसरमा मन्त्री खनालले भवन निर्माण पूर्व स्थानीय सरकार सहित घरमालिक र ठेकेदारबीच त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताए । उनले मजदुरको सुरक्षाको लागि जीवन बिमा आवश्यक रहेको भन्दै त्यसका लागि संघले तदारुकता देखाउनु पर्ने बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष बाबुराम श्रेष्ठ, भवन निर्माण जिल्ला समन्वय समितिका संयोजक उत्तम अधिकारी, चितवन भवन निर्माण व्यवसायी संघका अध्यक्ष कुलबहादुर राई, चितवन स्वरोजगार भवन निर्माण सेवा संघका अध्यक्ष कृष्णबहादुर पौडेल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरका सचिव रामचन्द्र पौडेल, एकीकृत समाजवादी रत्ननगरका अध्यक्ष बद्रिनाथ घिमिरेलगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम बरालले स्वागत मन्तव्य राखेका थिए ।