जिवनशैली सुधार्ने चेपाङले जिते ६ लाख पुरस्कार

December 4, 2021 7:48 pm

चितवन,मंसीर १८
चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर १ का ५८ जना चेपाङलाई पुरस्कृत गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले शनिबार कार्यक्रमको आयोजना गरि जिवनशैली सुधार्ने चेपाङ समुदायलाई प्रोत्साहन स्वरुप ५ लाख ९८ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको हो ।
भिलेजले संचालन गरेको ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ परियोजना अन्तर्गत प्रतिस्प्रधाबाट ५५ जनालाई पुरस्कार प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले जानकारी दिए । बुधबारनै सोही कार्यक्रममा १ जना फलफुल खेती गर्ने उत्कृष्ठ कृषक ,एक जना बाख्रापालन गर्ने उत्कृष्ठ कृषक र १ जना गत वर्ष पुरस्कृत गरिएको मध्यबाट उत्कृष्ठ छनौट गरि जम्मा ५८ जनालाई पुरस्कृत गरिएको गिरीले बताए ।

प्रतिष्प्रधा बाट प्रथम हुनेले १६ हजार,द्धितिय हुनेले १२ हजार,तृतिय हुनेले १० हजार,चौथो हुनेले ७ हजार र पाँचौ हुनेले ५ हजार रुपैयाँ नगद प्राप्त गरे । त्यस्तै ३ जना उत्कृष्ठले प्रति ब्यक्ती १६ हजार रुपैयाँ नगद प्राप्त गरे । ११ क्लस्टरमार्फत प्रतियोगिता गराईकोमा हरेक क्लस्टरबाट ५ जना उत्कृष्ठ छनौट गरिएको थियो ।

इम्प्याक्टले चेपाङ समुदायको जिवन शैली सुधार्न सिधै नगद सहयोग नगरी प्रतियोगिता मार्फत उत्कृष्ठ छनौट गरि प्रोत्साहन स्वरुप नगर पुरस्कार वितरण गरिएको कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए । सिधै नगद सहयोग गर्दा प्रभावकारी नहुने भएकोले प्रतियोगीता मार्फत उत्कृष्ठ छनौट गरि नगद प्रदान गरिएको बस्नेतले बताए ।

चेपाङ समुदायको जिवनशैली सुधार्नेे उद्धेश्यले संचालित परियोजनाले उत्कृष्ठ छनौट गर्दा घरको सरसफाई ,घरमा रहेको भान्छाकोठा,शौचालय,करेसाबारी,परिवारको आय आर्जन लगायतको अवस्थाको मुल्यांङकन गरेर उत्कृष्ठ छनौट गरिएको परियोजना अधिकृत अनिल अर्यालले जानकारी दिए । अर्यालले वडामा रहेका ५७० घरधुरीलाई लक्षित गरेर काम गरेको बताए ।

विजेतालाई प्रमुख अतिथी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले नगद र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक मिलन लामा र रमेशराज भट्टराईले सांगेतिक प्रस्तुति दिएका थिए । लामा र भट्टराईको सांगेतिक प्रस्तुतिले कार्यक्रमको माहोल रौनक बनेको थियो ।