एमसीसीले गठबन्धन टुट्दैन : प्रचण्ड

December 4, 2021 5:46 pm

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताएका छन्। चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेकोले अहिले नै ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका हुन्।

उनले भने, ‘खतरा अझै टलिसकेको छैन। हामीले ब्याटल एक पटक त जित्यौं। तर गठबन्धनलाई कमजोर बनाउन खोजिरहेका छन्। प्रेसमार्फत भ्रम छर्न खोजिरहेका छन्। हामी रिल्याक्स गर्ने ठाउँमा आइपुगेका छैनौं। तपाईंहरु पनि रिल्याक्स नगर्नुहोला कलम तिखो राख्नुहोला।’ विश्वभर पराजित शक्तिले पुनर्स्थापित हुनका षडयन्त्र गर्ने पाइएको बताउँदै प्रचण्डले नेपालमा पनि निरंकुश राजतन्त्र अन्त्य भएपछि यो कुरा देखिएको जिकिर गरे।

उनले प्राप्त उपलब्धिहरूलाई प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरूको हमलाबाट बचाउन प्रेस सुदृढ हुन आवश्यक रहेको पनि बताए। ‘दिगभ्रमितहरुलाई जनचेतना दिने अनिवार्य शर्त हो। क्रान्ति र प्रतिक्रान्ति रोक्ने आफ्नो हिस्साको जिम्मेवारीलाई राम्रोसँग निभाउनुहोला,’ उनले भने, ‘हिजो जनयुद्धमा हतियारसँगै कलम पनि हिँड्थ्यो। तर, युद्धमा सेना र बन्दुक नै निर्णायक हुन्थ्यो। शान्तिमा आएपछि अबको लडाइँ विचारको क्षेत्रमा हो। अबको पहिलो मोर्चा भनेको कलम हो।’

फरक प्रसंगमा प्रचण्डले एमसीसी राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्ने बताए। उनले संसद्, एमसीसी, प्रधानन्यायाधीशलाई महाअभियोग, न्यायालयको विवाद देखाएर पाँच दलीय गठबन्धन नटुट्ने दाबी गरे। उनले जबरजस्ती गरेर एमसीसी पास नहुने धारणा राखे। यद्यपि सत्ता गठबन्धन भत्काउने / टुटाउने प्रयास भने जारी रहेको उनको भनाई छ। प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न र प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको दाबी पनि गरे।