ओलीले निर्वाचन प्रक्रिया रोकेपछि भीम रावल आक्रोशित

November 28, 2021 7:06 pm

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अधिवेशनको उद्घाटनपछि कुनै पनि काम नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन्। रावलले पार्टीको निर्णय विपरीत केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत काम गर्नु आपत्तिजनक भएको बताएका हुन्।

रावलले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता नलिने अडान लिएपछि एमालेमा विवाद बढेको छ। त्यस्तै आज दिनभर अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायतका नेताले चितवन सौराहास्थित पार्क सफारी रिसोर्टमा छलफल गरेर पदाधिकारीको नाम टुंग्याएपछि रावलले आपत्ति जनाएका हुन्।

‘एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

ओलीविरुद्ध अध्यक्षमा उठ्ने तयारी गरेका उनले शनिबारदेखि नै चुनाव प्रचार गरेका थिए। आइतवार दोस्रो दिनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन। सौराहाकै होटल सेभेन स्टारमा भइरहेको बन्दसत्र अब राति ७ बजे मात्रै हुने भएको छ। ३२ पृष्ठको चुनावी बुकलेट नै बनाएर चुनावी मैदानमा होमिएका रावलसँग अझैसम्म अध्यक्ष ओलीले सहमतिका लागि छलफल अघि बढाएका छैनन्।

यही पृष्ठभूमिमा उनले शुक्रबार र शनिबार उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी आइतवार मतदान गर्ने पार्टी योजना उलंघन भएकोमा रावल आक्रोशित भएका हुन्। ओलीतिर लक्षित गर्दै उनले अन्तै बसेर पार्टी विधि, पद्धति र निर्णयविपरीत गएर निर्णय गरेको भन्दै रोष प्रकट गरेका छन्।