काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताएका छन्। चितवनमा जारी महाधिवेशन बन्दसत्रमा उनले एमालेलाई एकताबद्ध बनाएर देशको नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने पार्टीको रुपमा विकास गर्नुपर्ने बताए।
‘विशेष परिस्थतिबाट अगाडि बढिरहेका छौं। हाम्रो भूमिका सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको अवस्था छ। हाम्रो कमीकमजोरीका कारणले होइन, विरोधीहरुको जालझेल षड्यन्त्रले हाम्रो भूमिका परिवर्तित भएको छ,’ उनले भने। ओलीले एमालेलाई सशक्त बनाउन भावनात्मक एकता प्रस्तुत गर्नुपर्ने बेला आएको बताए।
सर्वसम्मत नेतृत्व चयन कठिन बन्दै गइरहेका बेला उनले एमालेभित्र भावनात्मक एकता जरुरी रहेको बताए। ‘विधान महाधिवेशनले पारित गरेको नीति कार्यान्वयन गर्न र एकढिक्का भए पार्टीलाई बढाउन भावनात्मक एकता प्रस्तुत गर्दै साझा संकल्पसहित जुट्नुपर्छ,’ उनले भने।
पार्टीभित्र समझदारी सहमति र एकता नै मुख्य लोकतान्त्रिक सिद्धान्त रहेको ओलीको भनाइ छ। ‘प्रतिपक्षीसँग लड्दा प्रतिस्पर्धा हुने हो। पार्टीभित्र सहमति र समझदारी मुख्य कुरा हो,’ उनले भने। पार्टी चौतर्फी घेराबन्दीमा परेका बेला बलियो बनाएर सुदृढ बनाएर सक्रियतापूर्वक योगदान गर्न पात्र धन्यवादको पात्र रहेको ओलीले बताए।
उनले भने, ‘तपाईंहरू दृढतापूर्वक एकताको पक्षमा संघर्ष गर्नुहुन्नथ्यो भने आज यो महाधिवेशनमा यो हैसियतका साथ उपस्थित हुने थिएनौं। हिजो उद्घाटन सत्रमा त्यस हैसियतमा हुने कल्पना पनि गर्न सक्ने अवस्थामा थिएनौं।’