रत्ननगरका मेयर नारायण वनद्धारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

November 24, 2021 8:58 pm

चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पर्यटकीय नगरी सौराहामा पत्रकारहरुसंग मेयर वनले बागमती प्रदेशबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
चितवनका लोकप्रिय नेता वन पार्टीको बागमती प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । मेयरको कार्यकाल अन्तिम चरणमा आइरहदा वनले पार्टीको केन्द्रीय सदस्यमा गरेको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका उहाँ २०३६ सालको जनमत संग्रहमा सहभागी तथा २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो ।

२०४३ सालमा इलाका पार्टी सदस्य पदमा रहेर काम गर्नुभएका वनले २०४९ सालमा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मेयरमा सानदार जित हासिल गरी उहाँले रत्ननगरको विकासलाई उचाईमा पु¥याउनु भएको थियो । रत्ननगर नगरपालिकाका संस्थापक मेयर समेत रहनुभएका वन २०६० सालमा पार्टीको जिल्ला सचिवालय सदस्य बन्नुभयो ।

रत्ननगर अस्पताल,रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रेडियो चितवनको संस्थापक अध्यक्ष समेत रहनुभएका वन २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रो पटक मेयर पदमा विजयी हासिल गर्न सफल हुनुभयो । निर्वाचनमा पार्टीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर विकासका गतिविधि अगाडि बढाउनु भएका मेयर वनले शिक्षा,स्वास्थ्य,पर्यटनको विकासमा उदाहरणीय काम गर्नुभएको छ ।
पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गरी राजनीति अगाडि बढाउदै आउनु भएका मेयर वनले गरेको कामप्रति नगरबासीहरु सन्तुष्ट छन् । नेकपा एमालेको दसौं महाधिवेशन यही मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । नारायणी नदी किनारमा उद्घाटन र पर्यटकीय नगरी सौराहामा बन्द सत्र हुँदैछ ।