देश अहिले पनि माओवादी केन्द्रकै नेतृत्वमा छ : प्रचण्ड

November 22, 2021 11:05 am

रत्ननगर,०६ मंसिर
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश अहिले पनि माओवादी केन्द्रकै नेतृत्वमा रहेको दावी गरेका छन् । सोमबार रत्ननगरमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले देशमा प्रधानमन्त्री , राष्ट्रपती जो भएपनि नेतृत्व माओवादीकै केन्द्रकै रहेको दावी गरेका हुन् । ‘अहिले पनि नेपाल माओवादी केन्द्रकै राजनितीमा छ,माओवादी केन्द्रकै नेतृत्वमा छ ।’ उनले भने ‘प्रधानमन्त्री जो सुकै भएपनि,राष्ट्रपति जो सुकै भएपनि देश माओवादी केन्द्रकै वरिपरी छ ।’

उनले माओवादी कमजोर भए देश असफल हुने भन्दै अबको निर्वाचनमा माओवादी गर्जिने बताए । अबको निर्वाचनमा हामी गर्जिदै छौं उनले भने जनताले माओवादीलाई विश्वास गर्ने वाताबरण सृजना भएको छ,अब निर्बाचन हामीले जितिन्छ । प्रचण्डले अहिलेको सरकारले नै सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने बताए । जिल्ला जिल्लामा भूमि आयोगको समिति निर्माणको काम सुरु हुदैछ उनले भने अब छिट्टै लालपूर्जा वितरणको काम सुरु हुन्छ । केपि ओलीको चपेटामा परेका कारण शक्तिखोर औद्योगिक क्षेत्रको काम अगाडि बढ्न नसकेको भन्दै प्रचण्डले शक्तिखोरमा औद्योगिक क्षेत्र बन्ने र त्यसको सुरुवात अब हुने बताए ।

प्रदेश साँसद कन्चन खनालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका रत्ननगर नगर कमिटी अध्यक्ष ओमप्रसाद लामिछाने,कालिका नगर अध्यक्ष सविता लामा,खैरहनी नगर अध्यक्ष लक्ष्मी ढकाल,राप्ती नगर अध्यक्ष रामचन्द्र पाठकले पार्टी सांगठनिक अबस्थाका वारेमा जानकारी गराएका थिए ।