रत्ननगर ०२ मंसिर । नेकपा एमालेको दसौं महाधिवेशनमा चितवनको रत्ननगरबाट २० हजार नागरिक सहभागी गराइने भएको छ । नगर कमिटीको व बिहीबार सम्पन्न बैठकले महाधिवेशनको उद्घाटन सत्रमा २० हजार बढी सहभागी गराउने निर्णय गर्दै त्यसको तयारी थालिएको नगर सहसचिव सागर मिश्रले जानकारी दिए ।
महाधिवेशन सफल बनाउन एक दुई दिन भित्र पार्टीको टोल कमिटी तथा जनबर्गीय कमिटी गठन गर्न निर्देशन दिइएको छ । नगर कमिटीले महाधिवेशनमा सहभागी हुन घरघरमै पुगेर निमन्त्रण कार्ड वितरण सुरु गरेको नगरकमिटीका अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । एक घर एक निमन्त्रण पत्र वितरण गर्ने गरी वडा कमिटीलाई जिम्मेवारी दिइएको र त्यो काम विहानैबाट सुरु भइसकेको अध्यक्ष अर्यालले जानकारी दिए । सौराहामा बन्दसत्र हुने भएकाले नगर कमिटीले व्यवस्थापनको कामलाई तीब्रता दिएको छ ।
बन्दसत्रको पूर्वाधार निर्माण देखि स्वागत गेट निर्माण तथा नगरपालिकाको सहकार्यमा सडक मर्मतको काम समेत अगाडि बढेको नगर इन्चार्ज यादब पाठकले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा महाधिवेशन जनपरिचालन समितिका संयोजक देबी ज्ञावलीले उद्घाटनमा जनसहभागिता र बन्दसत्रलाई व्यवस्थित गर्ने काममा नगर कमिटी सक्रिय रुपमा अघि बड्नु पर्ने बताए ।
बैठकमा रत्ननगरका मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रदेश कमिटी सदस्य राजाराम रेग्मी,महिला नेतृहरु महादेबी खतिवडा,पार्वती न्यौपाने,विरञ्जना सापकोटा,नगर सहसचिव अरुणा कट्टेल,लगायतको सहभागिता रहेको थियो । नगर सचिव शिवराज सुवेदीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पुष्प जोशीले स्वागत मन्तव्य राखेका थिए ।