रत्ननगरमा उर्वराशक्ति बढाउन माटो परीक्षण सुरु

November 15, 2021 5:33 pm

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले कृषि उत्पादन बढाउन माटो परीक्षण सुरु गरेको छ । रासायनिक मलको प्रयोगले उर्वराशक्ति कम हुदै गएपछि नगरपालिकाले किसानको खेतको माटो परीक्षण सुरु गरेको हो । सो नगरपालिकाले किसानको खेतको माटो परीक्षण गरी कषि चुन समेत वितरण गर्ने जनाएको छ ।

नेशनल एग्रिकल्चर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.रत्ननगरसंगको सहकार्यमा माटो परीक्षण सुरु गरिएको कृषि शाखा प्रमुख प्रविण लामाले जानकारी दिए । सोमवार मेयर नारायण वन,उपमेर विमला दुवाडीले सयुक्त रुपमा माटो परीक्षण र कृषि चुन वितरणको औपचारिक उद्घाटन गरेका छन् । सो अबसरमा मेयर वनले माटो जागाउने तर्फ केन्द्रीत नहुने हो भने उत्पादन घट्ने र भोकमरी लाग्न सक्ने सम्भावना औल्याए ।

माटोलाई माया गर्ने बेला आएको भन्दै उनले उत्पादन बढाउन माटो परीक्षण थालिएको हो । उपमेयर दुवाडीले रासायनिक मलको बढ्दो प्रयोगका कारण उत्पादनशक्ति घट्दै गएको भन्दै माटोको अम्लिएपन घटाउन औषधिको प्रयोग आवश्यक रहेको बताइन । आर्थिक समितिका संयोजक गुप्तनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मेयर वनले हस्पिटलका अध्यक्ष इश्वरीप्रसाद अर्याललाई खेतबाट संकलन गरिएको माटोको नमुना हस्तान्तरण गरेका थिए ।

सो नगरपालिकाले किसानहरुलाई खेतबाट माटोको नमुना लिन सिकाउन वडागत रुपमा प्रशिक्षण समेत दिने कृषि शाखा प्रमुख लामाले बताए ।