शेयर बजारमा २६ अङ्ककाे सुधार

November 15, 2021 4:53 pm

काठमाडाैं। लगातार चार दिनसम्म घटेकाे शेयर बजार परिसूचक नेप्सेमा आज दाेहाेराे अंककाे सुधार आएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा २६ अंककाे सुधार देखिएकाे हाे।

तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार नेप्सेमा १९ अंकको गिरावट आएको थियो । त्यस्तै बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) पनि नेप्सेमा एक अंकको गिरावट आएको थियो ।

यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६ लाख कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएकाे छ ।

यस दिन नेप्सेमा कारोबार भएका सबै समूहमा सुधार आएको छ । विकास बैंक समूहमा १४१ अंक, जीवन बीमा समूहमा ११३ अंक र उत्पादन १०९ अंकको सुधार आएको छ । यसबाहेक अन्य सबै समूहमा समेत वृद्धि भएको छ । आज बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतले बढेको छ ।